काठमाडौं - नेपाल सुपर लिगको उपाधिका लागि आज शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।
धनगढी एफसी लिग चरणमा दोस्रो हँुदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौं रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगचरणमा भने ललितपुर चौथो बन्दै इलिमिनेटरमा पुगेको थियो ।
धनगढीका प्रशिक्षक युगल किशोर राईले आफ्नो टोली शारिरिक र मानिसक दुबै रुपमा तयार रहको तथा दुबै टोली उत्तिकै बलिया भएकाले प्रतिस्पर्धात्मक खेल हुने प्रतिक्रिया दिएका छन् ।
‘फाइनल एकदमै टफ हुनेवाला छ । हामी शारिरिकमात्रै नभएर मानसिक रुपमा पनि तयार छौं । व्यक्तिगत रुपमा पनि खेलाडीले शतप्रतिशत दिनुपर्छ ।’ फाइनल अघि उनले भने, ‘हामीले फाइनल अघि चार दिनको आराम समय पाएका थियौं । सोच्ने मौका पनि पाएका छौं । हामी फाइनलका लागि पूर्ण रुपमा तयार छौं ।’
उनले गत सिजनमा पनि फाइनलमा पुगेको तर केही गल्तीका कारण उपाधि उचाल्नबाट चुकेको बताउँदै यस पटक त्यसबेलाका गल्तीहरुबाट सिक्दै अगाडि बढ्ने उल्लेख गरे ।
यस्तै धनगढीका कप्तान देवेन्द्र तामागले यसपटक टोलीको लय एकदमै उत्कृष्ट देखिएकाले जितका लागि मैदान उत्रिने प्रतिक्रिया दिए ।
‘यो सिजन जित्ने आशाका साथ खेलेका छौं । सजिलो हुनेछैन । प्रतिस्पर्धात्मक हुनेछ । प्रशिक्षकले सिकाएका कुरा फलो गरिरहेका छौं । जितका लागि खेल्नेछौं ।’ खेलअघि उनले भने ।
ललितपुरका प्रशिक्षक इयान गिलानले आफूहरुले लगातार खेल खेलेकाले केही समस्या हुने भएपनि फाइनलमा आफ्नो शतप्रतिशत दिने बताए । उनले आफूहरु उपाधिका लागि खेल्ने बताउँदै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे ।
एनएसएलको दोस्रो संस्करणमा ९ टिम समावेश थिए । प्रतियोगिताको विजेताले नगद ७० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गरेको हो ।
एनएसएलमा देशभरका ९ कर्पोरेट हाउस तथा ब्यक्तिले किनेका टिम समावेश छन् । साभार - खेलपाटी