काठमाडौ -नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेशका लागि पोखरा थन्डर्स र धनगढी एफसी भिड्ने भएका छन् ।
पोखराले पहिलो र धनगढीले दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा दुई टोली भिड्ने पक्का भएको हो । पहिलो क्वालिफायरको खेल दशरथ रंगशालामा आईतबार साँझ साढे ५ बजे सुरु हुनेछ ।
पोखराले लिग चरणमा ८ खेलबाट ४ जित, ३ बराबरी र १ हारको नतिजा सहित १५ अंक जोडेको थियो । धनगढीले ८ खेलमा ३ जित, ४ बराबरी र १ हार सहित १३ अंक जोडेर दोस्रो स्थानमा रहेको थियो ।
शनिबारको खेलमा काठमाडौंलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लिने अवसर ललितपुर सिटी एफसीलाई थियो । तर ललितपुरले काठमाडौंसँग १–० को हार ब्यहोरेसँगै पोखरा र धनगढीले पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो ।
पहिलो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ । हार भोग्ने टिमले इलिमिनेटर (तेस्रो र चौथौं)मा जित निकाल्ने टिमसँग दोस्रो क्वालिफायरको मौका पाउनेछ ।
इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौं रेजर्स र चौथों स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् । इलिमिनेटर राउण्डको विजेता टिमले पोखरा र धनगढीबीचको खेलमा हार ब्यहोर्ने टिमसँग दोस्रो क्वालिफायरका लागि खेल्नेछ ।
काठमाडौंले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारको नतिजा सहित १२ अंक जोड्यो । ललितपुरले ८ खेलमा २ मा जित, ४ बराबरी र २ हारको नतिजा सहित १० अंक जोड्यो ।
गोल अन्तरका आधारमा झापालाई पछि पार्दै ललितपुरले प्लेअफमा स्थान बनाएको हो ।