काठमाडौं- ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ भोली देखी सुदुरपश्चिम महोत्सब शुरु हुँदै छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले १७ औं संस्करणको तयारी पुरा भएको जनाएको छ । संघले बिगत २०६३ सालदेखि धनगढीमा महोत्सब आयोजना गर्दै आएको छ ।
महोत्सवको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । महोत्सब बिगतको भन्दा फरक हुने उनको दाबी छ । यस पटक महोत्सबमा भौतिक सजावट पनि बिगत को भन्दा फरक हुने संघले जनाएको छ ।
महोत्सवमा चार सयभन्दा बढी स्टलहरू छन्। महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सयभन्दा बढी स्टल छन्। साथै, अन्य मनोरञ्जनका लागि समेत विभिन्न स्टलहरू राखिएका छन्।
महोत्सवमा स्थानीय कला संस्कृति, कृषि प्रदर्शनी, अटोमोबाइल्सको प्रदर्शनी, रमाइलो मेलाका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने संघले जनाएको छ ।
करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिब २० करोडको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । महोत्सब धनगढी उपमहानगरपालिका -१ पशुपती टोलको खुल्ल्ला स्थलमा आयोजना हुने छ । महोत्सब मार्फत यस क्षेत्रमा पुरा हुन नसकेका ठुला मागहरु प्रधानमन्त्रीको ध्यानाकर्षण गरिने संघले जनाएको छ ।