बागलुङ - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेको सरकार चरम असफल सरकार भएको दाबी गरेका छन्।
बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम बागलुङ बजार आइपुगेका ओलीले बिहीबार जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार असफल मात्र नभइ चरम असफल सरकार भएको र राजीनामा दिनुपर्ने बताएका हुन्।
‘गैरजिम्मेवार र इमान नभएर सरकारमा बसेको छ।’ ओलीले भने,‘नत्र राजीनामा गरेर घर जानुपर्ने हो। लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ।’
अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए। उनले देशको अर्थतन्त्र धोस्त हुँदै गएको दाबी गरे। कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमा बसेको छ भन्दै प्रश्न समेत गरे।
नेकपा एमाले भ्रष्टाचारी र अनियमितताको विरुद्धमा रहेको भन्दै देशमा सुशासन र विकास एमालेले मात्रै गर्न सक्ने ओलीले दाबी गरे।
‘यो देशमा विकासको खाका तयार गर्ने पार्टी एमाले हो, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले एमाले जहाँ–जहाँ पगेकाे छ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो’ अध्यक्ष ओलीले भने, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।’