काठमाडौं - उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राईलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश सदर गरेको हो। त्यस्तै उच्च अदालतले आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ।
त्यसैगरी टेकनाथ रिजाललाई १५ लाख धरौटी, सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।
त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको उच्च अदालतका प्रवक्ता भट्टराईले जानकारी दिए।
'खाँणका हकमा प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल म्यासेजन, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी, टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसी.लाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटनाविवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति २०८०/१/२७ को ततिम्बा बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिब आधार देखिएन,' आदेशमा न्यायाधीश खरेलले भनेका छन्।
सोही कारण उनला उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम खाँणको मुद्दा तेस्रो न्यायाधीश समक्ष पेश हुने भएको हो।