धनगढी -नेपालमा एचआइभी संक्रमितको संख्या ९० प्रतिशतले घटेको छ । ३६ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखिएको हो ।
उक्त तथ्यांकअनुसार सन् २०२२ मा ४८८ जना एचआइभी पुष्टि भएको अनुमान गरिएको छ । संक्रमितमध्ये ५२ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् । यो संख्या सन् २००० को तुलनामा ९० प्रतिशतले घटेको छ । सोही समय पाँच हजार ७८ जना एचआइभिका बिरामी थपिएका थिए ।
सन् २०२२ मा मात्र तीनसय ४४ व्यक्तिको एड्सको कारण मृत्यु भएको अनुमान छ । यो तथ्यांक सन् २०१० को तुलनामा ८० प्रतिशतले कमी हो । सन् २०१० मा एक हजार सातसय व्यक्तिहरुको एड्सका कारणले मृत्यु भएको अनुमान गरिएको छ ।
२०२२ को अन्त्यसम्म नेपालमा २३ हजार २९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् । अनुमानित कुल एचआइभी संक्रमितमध्ये ७८ प्रतिशत एआरभी उपचारमा रहेका छन् ।
डा. ठाकुरका अनुसार नेपालमा हरेक दिन एक जनामा एचआइभी संक्रमण पुष्टि हुनेगरेको छ । सन् २०२२ मा नेपालमा एक करोड ५९ लाख अमेरिकी डलर राष्ट्रिय एचआइभी कार्यक्रमका लागि खर्च भएको थियो । त्यो कुल खर्चमा नेपाल सरकारको लगानी १९ प्रतिशत रहेको ठाकुरले जानकारी दिनुभयो ।
केन्द्रका निर्देशक डा. ठाकुरले नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदीहरु पुरुष समलिंगीहरु तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु रहेको बताए । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीमा संक्रमणदर अरु जोखिम समुहभन्दा उच्च रहेको उनको भनाइ छ।
सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ । यसैगरी सन् २०१७–२०१८ मा भएका सर्वेक्षणहरुअनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिंगीहरुमा ६.२ प्रतिशतका दरले एचआइभीको संक्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।