बैतडी - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । बुधबार बिहान कैलालीको धनगढी बाट हिँडेका ओली पहाडी राजमार्गमा स्थानीय नेता कार्यकर्तालाई भेट्दै साँझ बैतडी पुगे।
झुलाघाट जाने क्रममा बैतडीको पाटनमा आयोजित पार्टीका पुराना नेताहरूको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको सिमाना कसैले बनाइदिएको कृत्रिम कुलो, खोल्सो र पोखरी नभएको बताए ।
‘महाकाली नदीको सिमाना भनेको कुलोको सिमाना होइन, महाकाली नदीको सिमाना, त्यसबाट चिवाभञ्ज्याङसम्मको यात्रा हामी भोलि बिहानबाट प्रारम्भ गर्दै छौँ’, कार्यक्रममा बोल्दै ओलीले भने ।
ओलीले अहिले देशको अर्थतन्त्र दुईचार दलाल पुँजीपतिको हातमा गएको बताए । कमिसन तन्त्र हाबी भयो, कमिसनका भरमा देशलाई आर्थिक रूपले ओरालो लगाउने काम भयो’, उनले भने ।
आज देश राजनीतिक हिसाबले अस्थिरता, अन्योल र अराजकतामा गइरहेको ओलीले बताए ।
अढाई वर्ष अगाडि एमालेको सरकार हुँदा नेपालमा भएको विकासको गति देखेर विश्व चकित परेको ओलीले स्मरण गरे। विश्व बैँकले नेपाललाई दक्षिण एसियाको उदाउँदो अर्थतन्त्र र तीव्र गतिमा विकास गरेका १० देशको सूचीमा राखेको उनको भनाई छ । भूकम्प पछिको पुनर्निर्माण र कोभिडकालमा नेपालले विश्वलाई चकित पार्ने गरी काम गरेको उनले बताए ।
आफ्नो पालामा दक्षिणको मात्र होइन उत्तरको बाटोबाट पनि सामान ल्याउने गरी पारवहन सम्झौता गरेको र नेपाललाई कहिल्यै पनि नाकाबन्दी गर्न नसक्ने अवस्थामा पुर्याएको ओली को जिकिर छ ।
एमालेले देशको समृद्धिको लागि गरेको काम विरोधीहरूलाई पाच्य नभएको बताए । ‘हाम्रो देशलाई कमजोर राख्न खोज्नेहरू, कमजोर बनाउन खोज्ने, गरिब बनाउन खोज्नेहरूले विकासको त्यो गतिलाई पचाउन सकेनन्’, ओलीले भने ।
विभिन्न किसिमले षडयन्त्र गरेर अवैधानिक र असंवैधानिक बाटोबाट एमालेको सरकार ढालिएको ओलीले टिप्पणी गरे ।