डडेलधुरा– सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ मध्येको एक, उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज (मंगलबार) लाग्दैछ।
डडेलधुरा सदरमुकाम नजिक, अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ।
देहीजाँतमा अमरगढी नगरपालिकाका ४ वटा गाउँबाट देउरो आउने गर्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार)बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ। त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजनहरु उग्रतारा मन्दिर पुग्ने गर्छन्।
रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालुहरु दिउँसो, दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन्।
झण्डै २ हजार ५०० वर्ष अगाडि, हालको अमरगढी नगरपालिकाअन्तर्गत पर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक–कथन छ। हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनस्रुति छ। ज्ञानकी ज्योति तारा देवीको अर्को रुपमा पनि उग्रतारालाई लिइन्छ।
उग्रतारा भगवतीको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति तथा मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
मेला भर्नका लागि नेपालका सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेश र भारतको उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीबाट समेत दर्शनार्थीहरु उग्रतारा पुग्ने गर्छन्।
देहीजाँत स्थानीय बाजा, दाइन–दमाउ (दमाहा)का लागि समेत प्रख्यात छ। मेलामा स्थानीयले चौलो नाच समेत नाच्छन्। यस्तै, देउडा लगायत स्थानीय लोक नृत्यका लागि पनि मेला प्रख्यात छ।
उग्रतारा भगवतीको मेला सुदूरपश्चिमका मौलिक परिकारहरु माडा, निस्योसा, बाबर (सेल) लगायतका लागि पनि प्रख्यात छ।
मेलाको अवसरमा अमरगढी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले सूचना जारी गर्दै १२ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।