काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा तीन-चार हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको भन्दै ब्यंग्य गरेका छन ।राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन भए पनि सरकारको जग नभएको बताए ।
दुर्गा प्रसाईंको आन्दोलनबाट सरकार थर्कमान भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो बल्खुमा कहाँ हिँडेका हुन् थाहा छैन, के माग हो, के नारा हो केही थाहा छैन । तीन–चार हजार मानिस के जम्मा भएका थिए, यो सरकार त्यत्तिकैमा थर्कमान छ, किन भने यसको जगै छैन, एउटा किलो गाडेको छ भने हल्लिँदैन, तेस्रो पारेको छ भने अलिअलि हावा चल्दा पनि ढलमलाउँछ, गठबन्धन छ जरा छैन।’
दुर्गा प्रसाईंलाई देशलाई माया नगर्ने बिकाउ माल र धतंगाकाे संज्ञा दिँदै अध्यक्ष ओलीले साइकलकाे मूल्यसँग सार्वभाैमसत्ताका कुरा गर्नेहरु देशप्रेमी हुनै नसक्ने बताए। उनले भने, ‘एउटा धतंगाले नेपाललाई उता गाभ्याे भने साइकल सस्ताे पाइन्छ, साग सस्ताे पाइन्छ भनेछ, देशकाे माया नगर्ने बिकाउ मालहरुले यस्ताे भन्छन्, साइकलकाे मूल्यसँग सार्वभाैमसत्ता साट्ने कुरा गर्छन्।’
राजतन्त्र ब्युँताउने सपना नदेख्न पनि अध्यक्ष ओलीले चेतावनी समेत दिए । उनले भने ’कोहीकोही तत्व १५ वर्षअघि फालिसकेको राजतन्त्र फर्काउँछौं भन्दैछन्, मलाई लाग्छ, चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन्, जन्मिँदै राजा हुने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुन्छ भन्नु मुर्खता हो, राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालिदिएका हुन् ।’
उनले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध सामान गर्न प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिडन्तका लागि तयार रह्न युबा संघलाई निर्देशन समेत दिए ।
‘जतिसुकै बेला परिवर्तनका लागि विशाल आन्दोलन गर्नुपर्ने हुन सक्दछ। त्यसका लागि युवासंघ तयार हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण युवासंघ र युथफोर्सले आफूलाई तयार राख्नुपर्छ। रुन्चे कुरा गर्नुहुँदैन। ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई।’