धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले देउसी, भैलो, नाचगानलगायतका कार्यहरु राति ९ बजेसम्ममात्र सभ्य, शान्तिपूर्वक तरिकाले गर्नुपर्ने जनाएको छ । यस्तै प्रसाशनले
तिहारमा पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवम् विस्फाेटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक पनि लगाएको छ ।
यसैगरी, मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पूर्वको समय सार्वजनिक स्थानमा होहल्ला झैझगडाजस्ता कार्य नगर्न आग्रह गरेको छ ।
यस्तै, देउसीभैलीमा दक्षिणाका लागि रकम तोकेर दक्षिणा दिन दबाब दिन नपाइने र देउसी भैलोलगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात एवम् जनजीवनलाई असर पुग्ने गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।
चाडपर्व मनाउँदा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरीत छरछिमेक र समाजको समग्र शान्ति सुरक्षा प्रभावित हुनेगरी कानुनविपरीतका अवाञ्छित गतिविधि गर्न गराउन नहुने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।