काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’ उनले थपे, ‘हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’
सरकारमा रहेर सरकारले सुरू गरेको नयाँ आन्दोलनले पनि पार्टीप्रति जनताको भरोसा बढेको उनको भनाइ छ। यो अभियानमा अझै दृढताका साथ अगाडि बढ्ने उनले बताए।
राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए ।
प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए । यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ ।