सुर्खेत- बिहीबार माओवादी जनयुद्ध को आधार इलाका रुकुम पश्चिममा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुगेका छन् । जहाँ उनले हिजो जनयुद्धको संघर्ष सम्झिए ।
उनले जनयुद्धपछि 'प्रचण्डपथ' छाडेपछि माओवादी विभाजन भएको कुरा बताए । विचार मुख्य कुरा हुने बताउँदै उनले हिजो प्रचण्डपथलाई आफैले रोकेको कुरा पनि उल्लेख गरे । रोकेपछि अझ एकताबद्ध होला भनेर आफूले प्रचण्डपथ रोकेको तर पार्टी विभाजन भएकोप्रति उनले दुःख व्यक्त पनि गरे ।
उनले भने, 'हिजो प्रचण्डपथले बाबुराम, किरणदेखि विप्लव सबैलाई समेटेको थियो । तर, प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको हो । प्रचण्डपथ छाडेको दिनदेखि मियाे बिनाको दाइँ जस्तो भयो, सबै गोरुहरू जतातता जान मन छ त्यस्तै भयो । त्यसकारण फेरि एक पटक विचार केन्द्रित गर्नुछ ।'
आफूले प्रचण्डपथ रोकेपछि नै पार्टी फुटेको उनकाे भनाइ थियो । प्रचण्डले रुकुम, रोल्पाबाट जनयुद्धकालमा भए, गरेका अनुभूति पनि सुनाए ।
उनले अगाडि भने, 'हिजो जनयुद्धकालमा हेडक्वार्टरमा अप्ठ्यारो पर्यो भने, समस्या पैदा भयो भने म रुकुम आउने गर्थे, रोल्पा, जाजरकोट र सल्यान आउने गर्थेँ । त्यसमध्ये पनि रुकुम, रोल्पामा क्रान्तिको तयारीको बेलामा होस्, जनयुद्ध भरीदेखि अहिलेसम्म पनि अझ बढी आउने गरेको छु । जतिबेला यहाँ आउँछु, त्यसबाट नयाँ ऊर्जा लिएर हेडक्वार्टरमा जान्छु ।'
आज नयाँ परिस्थितिमा रुकुम आएर यहाँका पार्टीका साथी, सहिद, बेपत्ता परिवार र क्रान्तिकारी जनसमुदायसँग भेट्दा नयाँ ऊर्जा पैदा भएको कुरा पनि सुनाए ।
जनवादी क्रान्तिको कालमा, सामन्ती निरकुंशतन्त्रकाे लडाईंका क्रममा रुकुम, रोल्पावासीले लालकिल्लाकाे रूपमा भूमिका खेलेको, क्रान्तिको आधार क्षेत्रको रूपमा भूमिका खेलेको र नेतृत्वको रक्षाको भूमिका निभाएकाे कुरा पनि उनले सम्झिए ।
यद्यपि अहिले क्रान्ति बदलिएको छ । उनले भने, 'हाम्रो संविधानले पनि भनेको छ- समाजवाद उन्मुख हुने कुरा, हाम्रो पार्टीले समाजवादी क्रान्तिको तयारी गर्ने कुरा गरेको छ । म कर्णाली आउँदा भन्ने गरेको छु कि अबको केन्द्रीय आधार इलाकाको भूमिका कर्णाली प्रदेशले खेल्नुपर्छ ।'
यो कुनै भावनाको कुरा नभई क्रान्ति र आवाश्यकताकाे कुरा रहेको उनले बताए । क्रान्ति, संस्कृति निर्माणको लागि कर्णालीले भूमिका खेल्नुपर्छ।
उनले माओवादीले पुनः एकताको सन्देश सहित विभाजित माओवादीलाई जोड्ने प्रयास गरिरहेको पनि बताए ।