धनगढी - दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ ।
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा आज पशु बलि सहित भव्य जात्रा लागेको हो ।
हिजो महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित जात्रा सम्पन्न हने गर्दछ । नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको समापन हुने मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए ।
महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र आज बलिदिने चलन रही आएको छ । मन्दिरमा आजै बिहानै देखि दशर्नार्थीहरुको भिड लागेको पूजारी भट्टले बताए ।
उग्रतारा भगवती मन्दिरमा मेला
आज नै सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । उक्त मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ । दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनको भनाइ छ ।
यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । किम्बदन्तीअनुसार करिब २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकीजातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो ।
त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदैआएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पनि पूजारी रहेका छन ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ ।