कैलाली - सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको ‘माई ट्राभल डायरी’ को विमोचन गरिएको छ ।
कैलाली च्याम्बर अफ कमर्सले तयार पारेको उक्त डायरी शनिबार गोदावरीमा आयोजित एक कार्यक्रमका बीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले बिमोचन गरे ।
ट्राभल डायरीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका पर्यटन क्षेत्रहरूको फोटो सहित विभिन्न जानकारी समेटिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए । उनले सुदूरपश्चिम आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई च्याम्बरको तर्फबाट ट्राभल डायरी कोशेलीको रुपमा वितरण गरिने बताए ।
डायरी भित्र सुदूरपश्चिमका कुनकुन पर्यटकीय क्षेत्रमा पुग्नका लागि कति किलोमिटर यात्रा गर्नुपर्छ, सुदूरपश्चिमको जनसंख्या, सुदूरपश्चिमको भूगोलको जानकारी लगायतका सामग्री समेटिएको छ ।
अध्यक्ष मल्लले सुदूरपश्चिम प्रदेश घुम्ने पर्यटकको सहजताका लागि ट्राभल डायरी सँगै सुपआईडल ब्रान्ड डटकम वेबसाइट पनि तयार पारिएको बताए । उनले वेबसाइटमा सुदूरपश्चिमका उत्पादन, होटल, एम्बुलेन्स नम्बर, साहित्यिक सामग्री, उद्धारका जानकारी पनि समेटिएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री धामीले ट्राभल डायरी मार्फत अब यँहा आउने पर्यटकहरुलाई सहज हुने बताए ।