अत्तरिया - नेपाली काँग्रेसका प्रदेश सभापति बिर बहादुर बलायरले गेटामा विश्वबिधालय बनाउन आफुले रोक्नु पर्ने कुनै कारण नभएको बताएका छन । उनले नेपाली काँग्रेस कैलाली - ४ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आफुले रोक्न खोजेको भन्दै केही अनलाइन संचार माध्यमले गलत हल्ला फैलाएको दुखेसो पोखे ।
'गेटामा विश्वबिधालय रोक्न खोजिएको होइन बरु विश्वबिधालय देखाएर अरु चिज भजाउन खोजिएको हो कि भन्ने आशंका गरिएको हो । अब बिधेयक आउला त्यसमा पनि छलफल होला,' बलायर ले भने ।
गेटा विश्वबिधालयको बारेमा आफुले सदनमा बोलेको कुरालाई काँग्रेस कै केही मान्छेहरुले अतिरन्जित बनाएको उनले बताए । 'गेटा अस्पतालमा ओपिडी शुरु भएको छ । मैले बोलेको कुरा हाम्रै मान्छेहरुले अतिरन्जित बनाए । म आज भन्न चाहान्छु, म सोध्नु चाहान्छु भागेस्वर नर्सिङ किन बन्द भयो , पदमाको नर्सिङ किन बन्द भयो ? एउटा नर्सिङ अस्पताल चलाउन १०० बेडको अस्पताल चाहिन्छ भने विश्वबिधालय चलाउन कति बेडको अस्पताल चाहिन्छ?,' कैलाली -४ का सांसद समेत रहेका बलायरले भने ,'बिश्वबिधालय आयत गरेर आईदैन मैले सदनमा भनेको थिए । विश्वबिधालय आयो खुशीको कुरा हो, स्वागत गर्न चाहान्छु तर विश्वबिधालय बन्नको लागी आधारभुत कुराहरु नबनाइकन एकैचोटी विश्वबिधालय बनाउनु धोका हो की मैले आशंका गरेको हो ।'
बलायरले विश्वबिधालय बनाउने हो भने कम्तीमा २ हजार बेडको अस्पताल र ढेड सय डाक्टर चाहिने जिकिर गरे।
'पहिले हस्पिटल हो, त्यसपछि मेडिकल कलेज हो अनी विश्वबिधालय हो । विश्वबिधालयबाट मेडिकल कलेज अनी हस्पिटल त्यस्तो हुँदैन' बलायरले भने, '२-४ जना डाक्टरले विश्वबिधालय चलाउन सकिन्छ सकिदैन कम्तीमा ढेड सय डाक्टर चाहिन्छ।'
उनले विश्व बिधालय एकैचोटी बन्न नसक्ने दाबी गरे । केही नेता र मान्छेहरुले यसलाई निजी माम्ला जस्तो बनाएको बलायरको आरोप छ ।