काठमाडौं - नेपाल एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याएको साउदी १९ ओभर १ बलमा मात्र ४६ रनमा अलआउट भयो ।
वरुण सरवनन मुदलियारले बनाएको ११ रन, साउदीका कुनैपनि खेलाडीको सर्वाधिक स्कोर रह्यो । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका दिपेश कँडेलले एक्लै ६ विकेट लिएपछि साउदीको ब्याटिङ लाइन धरासायी बनेको थियो । आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट झारेका थिए ।
सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो । साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार प्रर्दशन गर्यो ।नेपालको जितमा अर्जुन कुमालले १ सय ४२ रनको शानदार शतकीय इनिङ्स खेलेका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे ।
ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए । दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४, मिलन बोहराले ९ रन बनाएका छन् । कप्तान देव खनाल शुन्य रनमा पोविलियन फर्किएका थिए ।
साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान एक एक विकेट लिएका छन् ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा शीर्ष तीन टिमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन् । नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित मलेसियामा रहेको छ ।