काठमाण्डौ -परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजी गरिदिन त्यहाँको सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको बताएका छन्।
आइतबार भैँसेपाटीस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको बताएका छन्।
मन्त्री साउदले इजरायलमा नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए।
‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको भनिएको छ,’ उनले भने।
नेपाली विद्यार्थी ल्याउन परराष्ट्रमन्त्री साउद पनि इजरायल गएका थिए। त्यहाँ उनले विपिनको बारेमा सम्बन्धित निकाय, इजरायली विदेश मन्त्रलायका प्रतिनिधिहरूलाई जानकारी गराएका थिए।
नेपाली विद्यार्थीहरूबाट हमासले फालेको ग्रिनेड नपड्किदै विपीनले एउटा ग्रिनेट बाहिर फ्याँकेको आफूले सुनेको उनले बताए।
‘त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँगै विपीनलाई पनि अपहरण गरेको लगेको भनिएको छ,’ मन्त्री साउदले भने।
त्यसदेखि नै उनको अवस्था अज्ञात रहेको उनले बताए।
‘उहाँको स्थिती पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं। इजरायल सरकारले पनि उहाँको स्थिती के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ,’ मन्त्री साउदले भने।