धनगढी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएका बताएका हुन । सो स्थानमा १७ जना विद्यार्थीहरू रहेकामा दुई जना सकुशल अवस्थामा रहेका, तीन जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्था बारे यकिन गर्न सम्पूणर् संयन्त्र परिचालन गरिएको जानकारी उनले दिए । सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उनको भनाइ छ ।
मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निणर्य लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूणर् कार्यहरू गर्ने जानकारी दिए ।
‘‘इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए ।,’’मन्त्री साउदले सदनमा भने ।
मन्त्री साउदले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम् सम्पर्क परिचालन गरेको बताए ।
परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकिएको उनले बताए ।
मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूणर् प्रतिबद्ध रहेको बताए ।