अत्तरिया -नेकपा एमाले गोदावरीमा असन्तुष्ट रहेको पक्षले प्रतिनिधि चयनमा आफुहरु को हारजित को प्रश्न नै नरहेको बताएको छ ।
आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समुहका नेताहरु यस्तो बताएका हुन । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले प्रदेश कमिटीका सदस्य कृष्णराज सुवेदीले आफुहरुले पत्रकार सामु उपस्थित हुन नचाहे पनि संस्थापन पक्षको व्यवहारका कारण बाध्य भएर आउनुपरेको बताए ।
उनले सर्वसम्मत रुपमा पार्टीको प्रतिनिधि सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भन्दै आफुहरु पछाडी सरेकोमा आफुहरु पछाडी सर्नुका पछाडी अनेक भ्रमहरु सृजना गरिएको बताए ।
'हामीले सबैको चाहना बमोजिम सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने अपेक्षा राखेका थियौ, त्यसरी छनौट नभएर सर्वमान्य विधिलाई स्विकार गरेर जानुपर्छ भन्दै निर्वाचनका लागि ३२ जनाले उम्मेदवारी दियौ,' उनले भने ,‘चुनावको अघिल्लो दिनसम्म सहमतीका लागि जिल्लाबाट आएको टोलीसँग छलफल चलिरहेको थियो, तर निर्वाचन कमिटिले साढे ४ बजे उम्मेदवारी फिर्ता लिने भनेपनि ६ बजेसम्म सबै सहमतीका लागि छलफल गरिरहेकाले त्यो सम्भव भएन ।’
उनले पार्टी भित्रैका केही व्यक्तिका उम्मेदवारी ७ बजेसम्म फिर्ता भएपनि आफुहरुको समुहबाट गएका व्यक्तिको उम्मेदवारी फिर्ता नगरिएको बताए ।
उनले निर्वाचनका लागि तोकेको समय अगावै देखी निर्वाचनको प्रकृया थालिएपछि १४ जनालाई सर्वसम्मत दिने गरी बाँकी १६ जना उम्मेदवार पछाडी हटेको बताए । यस्तै जिल्ला कमिटी सदस्य आनन्द भट्टले निर्बाचन नै अबैध भएकाले सहभागी हुन नसकेको जिकिर गरे ।
‘हामी पार्टी हित र पार्टी निर्माणलाई केन्द्र बिन्दुमा राखेर हिडेका छौै’ उनले भने ‘तर हाम्रा साथीहरुले पार्टी कार्यालयमै पत्रकार बोलाएर पार्टी भित्रको विषय बस्तुलाई बाहिर ल्याउनुभयो त्यसमा हाम्रो ध्यानाकर्षण भएको हो ।’
उनले चुनावको अघिल्लो दिनसम्म पनि सहमतीको प्रयास असफल हुदाँ चुनावी प्रकृया सुरु गरिएको बताए ।‘सहमतीको प्रयास असफल भएपछि स्वस्थ प्रतिष्पर्धामार्फत पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा भएकाले सौहार्दपुर्वक रुपमा चुनावी प्रकृयामा सहभागी हुने सबैको चाहना थियो’ उनले भने ‘तर चुनावमा त्यस्तो हुन दिईएन । एउटा पक्षको कुनै प्रतिनिधि नै नराखेर, आचारसंहितामा हाम्रो समुहको हस्ताक्षर सम्म नगरेर, १० बजे चुनाव भनेर ८ बजेदेखी नै सुरुवात गर्दा हामीहरुले चुनावमा भाग लिन उचित ठानेनौ ।’
गोदावरीमा एमाले भित्र दुई धार बिगत देखि सकृय थिए । प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधि १४ जना नै संस्थापन समुहबाट चयन भएका छन् ।