अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको गाडीको चरम दुरुपयोग भएको पाइएको छ ।
महिनाको ९० हजार भाडा तिर्ने गरि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्नका लागि भाडामा लिइएको गाडी( स्कारपियो)को चरम दुरुपयोग भैरहेको पाइएको हो । विहिवार राति करिब १२ बजेको समयमा गाडी चालक विक्रम चौधरीले तिव्र गतिमा कुदाउँदै स्थानियको पर्खालमा ठोकेर ठूलो क्षति गराएपछि उक्त तथ्य बाहिर आएको हो ।
प्रमुख प्रशासकीय अधिकृत चड्दै आएको बा १६ च ८७८८ नम्बरको गाडीले विहिवार राति गोदावरी नगरपालिका १० खमौरामा स्थानियको घरको पर्खालमा ठोकेर ठूलो क्षति गरेको छ । खमौराका स्थानिय समेत रहेका गाडी चालक चौधरीले रातिको समयमा नगरपालिकाको गाडी तिव्र गतिमा चलाउदै स्थानिय उद्धव देउवा र लोक देउवाको घर अगाडी रहेको पर्खाल र गोठमा ठोकेका हुन् । गाडी सुरुमा पर्खालमा ठोकिदै गएको र पछि गोठमा समेत पसेको थियो । गोठमा रहेका पशु चौपाय र बाख्राहरु बचेपनि पर्खालमा ठूलो क्षति भएको छ ।
गाडी चालक उक्त समयमा अत्याधिक रुपमा मदिरा सेवन गरेको र उनी बोल्न सक्ने अबस्थामा थिएनन् । उनले पर्खालमा गाडी ठोकेपछि रातिको समयमा बाहिर निस्किएका घरमुलीले चालकलाई उक्त अबस्थामा देखेपछि आश्चर्यचकित भएका थिए ।
रातिको समयमा मदिराले मत्तिएका चालकले गाडी पर्खालमा ठोकेर भर्खरै बनाएको पर्खाल र पिल्लरमा ठूलो क्षति गराएकाले यो नगरपालिकाले बनाउनुपर्ने उनीहरुको माग छ ।“ राति सबैको सुतेको समयमा गोठमा रहेका पशुचौपाय र बाख्राहरु सबै मर्ने थिए तर बाँछे,“ स्थानिय उद्धव देउवाले भने ,“अब हाम्रो भर्खरै बनाएको पर्खाल क्षतविक्षत भएको छ यसको क्षतिपूर्ती भन्दा पनि पुरानो पर्खाल जस्तो थियो त्यस्तो बनाइदिए भयो अरु हामीलाई केही चाहिएन । “पर्खालमा ठोकिएको उक्त गाडीको अगाडीको भाग पनि क्षति ग्रस्त भएको छ ।
उता गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले गाडीमा आफू सवार नरहेको बताए । चालकले आफूलाई घरमा छोडेर गएपछि गाडी घरमा लगेको र पछि उनी किन गाडी निकालेर बाहिर आए त्यस बिषयमा जानकारी नभएको बताए ।
साथै उनले मदिरा सेवन गरेर गाडी दुर्घटना गराए वा अन्य केही कारणले भयो त्यसबारे बुझ्ने सोधपुछको काम भैरहेको बताए ।
यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन कुमार साउँदले घटनाबारे बुझ्ने काम भैरहेको बताए ।
उक्त घटनापछि चालक चौधरीलाई स्पष्टिकरण सोधिसकेको समेत बताए । मदिरा खाएर गाडीको दुरुपयोग भएको पुष्टि भएमा चालकमाथि कारबाहीको प्रकृया समेत अगाडी बढाइने उनको भनाई छ ।
यस्तै स्थानियको पर्खालमा भएको क्षतिको विवरणबारे बुझेर तीन दिन भित्र पर्खाल पुननिर्माण हुने बताएका छन् ।