अत्तरिया - छठ पर्व आज विधिवत रूपमा सम्पन्न भएको छ । हर्षोल्लासका साथ मनाइने छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि विधिवत रूपमा सम्पन्न भएको हो ।
चार दिन सम्म मनाइने छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएको छ । परिवार एवं सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी, नदी तथा जलाशयमा व्रतालु जम्मा भई सामूहिक रूपमा पर्व मनाउने गरिन्छ । स्थानिय ब्रतालुहरुले आज कैलाली अत्तरिया स्थित गोदावरी नदी , धनगढीको मोहाना नदीको किनारमा गई आदि देव सूर्य भगवानलाई अर्घ्य दिएका छन् ।
यता विगत ६\७ बर्षदेखिनै छट पर्व अत्तरीयामा मनाउने गरिएको भएपनि यसमा अन्य सामुदायको खासै सहभागीता भने रहेको छैन । स्थानिय अगुवा विरेन्द्र कुमार चौधरीले भने ’अन्य ठाउँमा सबै सामुदायको सहभागिता हुने गर्दछ तर यँहा त्यसो हुन सकेको छैन, ’मधेशी सामुदायको सँख्या यँहा थोरै छ,छठ सबैको पर्ब हो त्यसैले सबैको सहभागीता हुँदा राम्रो हुन्थ्यो ।’
छठ पर्वको पहिलो दिन व्रतालु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रोे दिनको साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै, तेस्रोे दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायत सामग्री चढाइन्छन् । त्यसैगरी, प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा र विविध प्रकारका मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।
अघ्र्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवान्लाई अर्घ्य दिने परिकार अत्यन्तै नियम र निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वका रूपमा मानिन्छ ।