अत्तरिया - आज छठ पर्वको मुख्य दिन । सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । छठ पूजाका लागि कैलालीमा पनि भव्य तयारी गरिएको छ । आज बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइने तयारीमा व्रतालुहरू रहेका छन् । छठ पूजा सेवा समिति धनगढीले मोहना नदी स्थित मोहना घाटमा छठ पूजाको लागि भव्य तयारी गरेको हो ।
आर्य घाटको रुपमा प्रयोग हुँदै आएको मोहना घाट र आसपासको क्षेत्रलाई सिंगारपटार गरेर झकिझकाउ पारिएको छ । छठ पर्वको पूजाको लागि झन्डै साढे छ लाख रुपैयाँ खर्च गरेर नदी किनारलाई सजाउने कार्य भएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले जानकाी दिए । धनगढीको मोहना घाटमा विगत ११ वर्षदेखि छठ पूजा गरिदैं आएको समितिले जानकारी दिएको छ । सूर्यको अराधना गरेर मनाउने यो पर्व मुलुकको विभिन्न क्षेत्रमा मनाइन्छ ।
छठका व्रतालु महिला र पुरुषले दीपावलीको चौथो दिन देखि नै माछामासु, लसुन, प्याज खाँदैनन् । उनीहरूको खान्की शुद्ध शाकाहारी हुन्छ, खीर, दूध र केरा खान्छन् । पञ्चमी तिथिमा दिनभर निराहार व्रतपछि राति पूजा गर्छन् र फलाहार गर्छन् । त्यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन व्रतालुहरूले अन्नजल ग्रहण गर्दैनन् । बिहानैदेखि छठका परिकारहरू भुस्वा, टकुवा, लड्डुलगायत तयार पारिन्छ । ती सबै सामानलाई बाँसको डालोमा राखेर सूर्यास्त हुनुअघि जलाशय वा नदीमा छठ पूजा गरिन्छ । करिब ४० घन्टा भोकै रहने व्रतालुले घन्टौँ पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
त्यसको भोलिपल्ट ब्रह्म मुहूर्तमा पूजा सामग्रीसहित नदी या जलाशयको किनारमा गई उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्वको समापन हुन्छ । त्यसपछि प्रसादका रूपमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती, अदुवालगायत परिकार बाँड्ने चलन छ । यस पर्वमा छठी माता र सूर्यको एकसाथ पूजा हुन्छ । छठमा हुने सूर्य पूजालाई रामायणसँग पनि जोडिएको छ । भगवान् श्रीरामले ब्राह्मण पुत्र राक्षसराज रावणको वध गरेको दोष मेटाउन अयोध्या फर्केपछि सूर्यको पूजा गरेको विश्वास रहिआएको जानकारहरू बताउँछन् ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीमा श्रीरामले सूर्यको पूजा गरेको तथा सोही समयदेखि छठपर्व मनाउन थालिएको विश्वास गरिन्छ । यस्तै, १२ वर्षको वनवासपछि एक वर्ष गुप्तवासमा जानुअघि रानी द्रौपदीसहित पाण्डवहरूले छठ व्रत गरेको विश्वास छ ।
छठ पर्वमा सहभागहरुलाई स्वागतका लागि धनगढीको विभिन्न ठाउँमा स्वागत गेट पनि निर्माण गरिएको छ भने त्रिनगर भन्सार नजिकको मैदानलाई पनि सजाइएको छ ।