अत्तरिया – गोदावरी नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी बाफत चर्को जरिवाना शुल्क उठाउन थालेको छ ।
नगरपालिकाले नदीजन्य पदार्थको अवैध ढुवानी रोक्न कार्यपालिकाबाट निर्णय नै गरेर चर्को जरिवाना शुल्क उठाउन थालेको हो ।
नगरपालिकाले बुधबार कैलालीको गोदावरी – १२ मा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको ट्याक्टरलाई ५० हजार जरिवाना तिराएको छ ।
३ हजार रुपैयाँको बालुवा अवैध रुपमा ढुवानी गरेबाफत ५० हजार जरिवाना तिराएपछि यसको चर्को आलोचन हुन थालेको छ । कतिपयले सामाजिक सन्जालमा उक्त कार्यको बिरोध समेत गरेका छन । उनिहरुले चर्को जरिवाना अबैध कार्य रोक्न भएपनी ब्यबहारिक नभएको बताएका छन ।
गोदावरी नगरपालिकाले असार १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको थियो ।
नगरपालिकाले चालु आर्थीक बर्षमा मात्रै अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने ३ ट्याक्टरलाई ५० हजारका दरले डेढ लाख जरिवाना तिराइसकेको नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरुले बताएका छन । उनले कार्यपालिकाबाट गरिएको निर्णय अनुसार नै जरिवाना अशुल गरेको जिकिर गरे ।
नियम उलघंन गरेर नदीजन्य पदार्थ उत्खनन् वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने कार्यपालिकाको निर्णयमा उल्लेख छ ।
नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा रोक लगाएको समयमा स्टक प्रमाणित गरेर भने ढुवानी गर्न सक्ने जनाएको थियो । तर, स्टक प्रमाणित नगरी ढुवानी गरेको पाइएका ट्याक्टरलाई जरिवाना गरिइएको नगरपालिकाले जनाइएको छ ।