अत्तरिया - भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। सनातन धर्मावलम्बी महिलाको विशेष पर्व । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको रहेको छ । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।
सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।