अत्तरिया - नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका छन् ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै पूूर्व उद्योगमन्त्री समेत रहेका भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो ।
‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने, ‘उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनु भएको छ ।
अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । ‘कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेका सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिँदैन भन्ने लाग्छ,’ भट्टले भने ।
प्रतिनिधिसभा निर्वाचनका बेला आफ्ना प्रतिस्पर्धी रहेका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले ६ महिनाभित्र राजधानी निर्माण गर्छु भनेर मतदातालाई आश्वासन दिएपनि अहिले आफूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत उनले लगाएका छन् । सबैतिर जनता र जनघनत्व बढी हुन्छ क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उनको भनाइ थियो । तत्कालीन अवस्थामा आफू पनि संघीय सरकारमा प्रतिनिधित्व गर्ने समयमा प्रदेश सरकारले समयमै जग्गाको भोगाधिकारको प्रक्रिया अघि नबढाउँदा काम गर्न नसकिएको उनी बताउँछन् ।
‘त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएर राजधानी निर्माणका लागि जुन पहल गर्नुपर्ने थियो त्यो गरेन । प्रस्तावहरु समयमै लैजानुपर्ने थियो त्यो हुन सकेन,’ उनले भने, ‘हामी प्रक्रियामा अघि बढिरहेका बेला हाम्रो पार्टी सरकरबाट बाहिरियो, त्यसपछि हामीले पहल गर्न नसकेको कुरा यथार्थ हो । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा तोकिएको प्रदेशको राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि सुदूरपश्चिममा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ ।