अत्तरिया - तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य तथा श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आइसके पनि तीजको महत्व भने आफ्नै ठाउँमा छ ।
हिजोआजको तीजमा पश्चिमेली शैलीसमेत मिसिन थालेको छ । तीज केही उत्ताउलोसमेत हुन तथा यसको मौलिकता हराउन थालेको गुनासो पनि पाइन्छ । वेद र गीताबाहेक अन्य हिन्दू धर्मग्रन्थमा कतिपय कुरा वास्तविक घटनाभन्दा बेग्लै प्रकारले उल्लेख गरिएको देखिन्छ । परापूर्वकालदेखि पुरुषप्रधान रहेको हिन्दू समाजमा ऋषिहरूले पुरुषलाई सदा अग्रस्थानमा राखेर सोहीअनुसारको कथा लेखेकाले कतिपय सत्य कुरा ओझेलमा पर्न गै चाडपर्वहरूमा विकृति बढ्दै गएको जानकारहरू बताउँछन् । तीज शास्त्रीयभन्दा बढी लौकिक पर्व हो ।
यो पर्व नेपालको पहाडी भाग तथा भारतको उत्तरी पर्वतीय भागबाट मनाउन थालिएको हो । तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति त निर्धारण गर्न सकिँदैन, तैपनि यो पर्व पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । तीज विशेष गरी नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएकाले तीजलाई विशुद्ध नेपाली पर्व पनि मानिन्छ । यो पर्वले नेपाली जनजीवनको सामाजिक, धार्मिक एवं सांस्कृतिक पहिचान व्यक्त गर्छ ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा प्राप्त गर्न १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा शास्त्रमा उल्लेख छ । यही मान्यता अनुसरण गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउने कामनाका साथ तीजको व्रत बस्ने चलन चलेको हो ।
धार्मिक प्रसंग
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर विभिन्न प्रकारका माटो लेपन गरी स्नान गर्छन् । दतिवनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात तथा एक सुइरे भएर उम्रने कर्कलाको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास समेत छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ भने पोतेले शान्ति एवं आनन्द प्रदान गर्छ । रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलाहरूलाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तो देखिन्छ । पुरुषभक्त हुन लिइने व्रत एवं सम्पन्न गरिने धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।
सामाजिक प्रसंग
नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण पनि सिर्जना गर्छ । बालीनाली लगाइसकेपछिको फुर्सदमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई माइती लिएर फर्कने प्रचलन छ । यसले माइती–चेलीको आपसी सम्बन्ध मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीहरूबीच भेटघाट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्ने तथा सुख–दु:खका कुरा गर्ने अवसर समेत जुटाइदिन्छ ।
केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हँुदै गएको छ । कतिपय मध्यमवर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षमा छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ ।
दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजू आदि समेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ । यस्तो सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ । यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक होडबाजी चल्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउनेलाई बढी सम्मान दिने गलत प्रवृत्तिले सामाजिक सद्भाव एवं पारिवारिक मेलमिलापमै असर पार्न सक्छ ।
सांस्कृतिक प्रसंग
मानिस जतिसुकै आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति हतपत्त त्याग्न सक्दैन । नेपालका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले यसमा युवतीहरू पनि रमाउँछन् । कामबाट केही अवकाश लिँदै परिवारका सदस्य तथा साथीभाइहरूको जमघट, घुमघाम एवं नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ ।
तीजमा गीत–संगीतको विशेष महत्व हुन्छ । महिलाहरू विद्युतीय उपकरण तथा साधन नहुँदा समूहमा भेला भै गीत गाउँथे भने अहिले रेडियो–टेलिभिजनहरूमा आधुनिक शैलीका गीत गुञ्जिन थालेका छन् । तीजका गीतमा पहिले छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दु:ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँछन् । चुल्हो–चौका एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । नेपाली महिलाहरू पनि धेरै अर्थमा सशक्त भैसकेका छन् ।
यद्यपि अहिले टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान एवं खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन् । कतिपय संघसंस्थाले तीजसँग सम्बन्धित विभिन्न प्रतियोगितासमेत आयोजित गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो, खर्चिलो र उत्ताउलो बनाउँदै लगेको आरोपसमेत छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नुलाई सकारात्मक मान्न सकिन्छ ।
तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लान सकिन्छ । शिक्षित एवं सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हुँदैन । तीजकै मेसोमा अरूको देखासिकी गर्ने वा नचाहिँदो प्रतिस्पर्धा गर्ने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढाइरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई समेत ओझेलमा पार्छ ।
पारम्परिक प्रसंग
हिमालयपुत्री पार्वतीबाट सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मन–वचनका साथ बस्दा अविवाहितले चिताएको वर तथा विवाहितहरूका पतिले दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ ।
पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जानेर वा नजानेर भएगरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ । यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ । सम्बन्ध सुधार गर्ने, त्यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज ।
पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि त्यस्तो दिन कुरेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो वह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका प्राप्त गर्ने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व भएको हो, तर समयक्रमसँगै त्यस्तो सामाजिक यथार्थतामा ठूलो परिवर्तन आइसकेको छ । महिलाहरूको बढ्दो आर्थिक संलग्नता, बजार अर्थतन्त्र एवं देशमा बढ्दो आर्थिक गतिविधिका कारण तीजको स्वरूपमा परिवर्तन आएको मान्न सकिन्छ ।