अत्तरिया - पशु चौपायामा फैलिएको लम्मी स्किन महामारीका कारण सुदूरपश्चिम प्रदेशमा १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथका अनुसार पशुमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण पशुपालन कृषकहरूको तीन करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ ।
सूचना अधिकारी नाथले भने, “हालसम्म तीन लाख ४६ हजार ८०८ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । कतिपय स्थानीय तहहरूले यस यो रोग विरुद्धको खोप समेत लगाएका छन् । उपचारको काम भइरहेको छ ।” पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण सबैभन्दा बढी बैतडी जिल्लामा तीन हजार ४४९ र सबैभन्दा कम कञ्चनपुर जिल्लामा १ सय १९ पशुको मृत्यु भएको छ ।
यसैगरी डोटी जिल्लामा २ हजार ७५, अछाममा २ हजार २ सय ९१, डडेलधुरामा १ हजार ५३०, बझाङमा २ हजार ४२७, बाजुरामा ६९३, दार्चुलामा १ हजार ५३१ र कैलालीमा २ सय ७५ पशुको लम्पी स्किनका कारण मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बैतडी र बाजुरा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।
कैलालीमा ५ हजार ८००, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले पनि लम्पी स्किन रोगको उपचारका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेका छन् ।