काठमाडौं - नेकपा एमालेले संविधानसभाका अध्यक्ष, पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्तमा ठूलो क्षति पुगेको बताएको छ ।
नेम्वाङको निधनपछि बसेको एमालेको आकस्मिक सचिवालय बैठकले उनको निधनप्रति श्रद्धासुमन व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । संविधानसभाका अध्यक्ष, सभामुख, पार्टीका उपाध्यक्ष, संसदीय दलका उपनेता आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधनले ठूलो क्षति पुर्याएको छ ।
बैठकले उहाँप्रति श्रद्धा सुमन अर्पण गर्दै योगदानको मूल्यांकन शोक प्रस्ताव पारित गरेको छ’ ज्ञवालीले भने, ‘संविधान निर्माणको लागि उहाँले खेल्नुभएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई/दुई पटक संविधानसभाको अध्यक्षको भूमिका कुशलतापूर्वक निभाउनुभयो ।
सभामुख, सांसद, समितिको सभापति, मन्त्री जस्ता हरेक मोर्चामा उहाँले खेलेको भूमिका अद्वितीय छ । जस्तोसुकै तनावका बीच पनि समन्वयमा गराउने सक्ने क्षमता उहाँमा थियो । यस्तो व्यक्तित्वको अभाव राजनीतिमा लामो समयसम्म हुनेछ ।’
एमाले बैठकले विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, पार्टीका सबै कार्यक्रम स्थगित गर्ने, केन्द्रदेखि जिल्ला कार्यालयसम्म शोक पुस्तिका राख्ने र असोज २ गते पार्टी केन्द्रको आयोजनामा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि गरेको छ ।
नेम्वाङको पार्थिव शरीरलाई मंगलवार केन्द्रीय कार्यालयमा राखिने र बिहीवार बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने उनले जानकारी दिए ।