अत्तरिया - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाकाली नदिमा बहाव बढ्ने
देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै महाकाली नदिमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
हाल देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । वर्षाका कारण नदिहरुमा जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
वर्षाका कारण बैतडी, दार्चुला, डडेलधुरा, बझाङ, अछाम, बाजुरा, डोटी कैलाली, कञ्चनपुर भएर बहने नदिहरुमा जलसतह बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।
यस्तै संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, म्याग्दी, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, दैलेख, कालीकोट, दाङ, बाँके, बर्दिया, भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ ।