काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा कुल ५५ वटा विमानस्थल रहेका छन । जसमध्ये ३४ विमानस्थल नियमित रुपमा सञ्चालनमा छन भने २१ विमानस्थल सञ्चालनमा रहेका छैनन ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सञ्चालनमा नआएर प्रयोगविहीन रहेका विमानस्थलमा लामीडाँडा विमानस्थल, रुम्जाटार विमानस्थल, कांगेलडाँडा विमानस्थल, रुकुम चौरजहारी विमानस्थल, मेघौली विमानस्थल, डोल्पा मसिने चौर विमानस्थल, डोटी विमानस्थल, बैतडी विमानस्थल, महेन्द्रनगर विमानस्थल र दार्चुला विमानस्थल रहेका छन् ।
त्यसैगरी मनाङ विमानस्थल, बलेवा विमानस्थल, जिरी विमानस्थल, स्याङबोचे विमानस्थल, ढोरपाटन विमानस्थल, टीकापुर विमानस्थल र पालुङटार विमानस्थल पनि बर्सौंदेखि ठप्प रहेका छन ।
त्यस्तै बाग्लुङ विमानस्थल, लाङटाङ विमानस्थल, रोल्पा विमानस्थल, खिजी चन्द्रेश्वरी विमानस्थल र गोरखा विमानस्थल पनि सञ्चालन नहुँदा गौचरनमा परिणत भएका छन् ।
‘दुर्गममा उडान गर्न उपयुक्त जहाज छैनन्’
पर्याप्त र उपयुक्त हवाईजहाज नहुँदा दुर्गममा उडान हुन नसकेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए । दुर्गममा उडान गर्न नेपालमै छुट्टै किसिमको हवाई व्यवस्था छ तर पर्याप्त संख्यामा हवाईजहाज नहुँदा नियमित उडान हुन सकेको छैन ।
निरौलाका अनुसार दुर्गम जिल्लामा रहेका विमानस्थल ५० वर्षभन्दा पुराना छन् । त्यतिबेला नेपालमा दुर्गम जिल्लाका ती विमानस्थलमा अवतरण र उडान गर्न उपयुक्त हुने करिब ११ वटा हवाईजहाज थिए । तर हाल नेपालमा त्यस्ता हवाईजहाज ८ वटा मात्रै रहेका छन ।
हवाईजहाजकै अभावका कारण दुर्गम जिल्लामा नियमित उडान गर्न नसकिएको निरौलाले बताए । उनले केही विमानस्थलमा उडान गर्न मिल्ने हवाईजहाज नै नभएको समेत बताए ।
नेपालको जिरी विमानस्थल, स्याङबोचे र ढोरपाटन विमानस्थलको धावनमार्ग साढे २ सयदेखि ३ सय मिटरको मात्रै छ । सामान्यतया हाल नेपालमा भएको विमान उडानको लागि ४ सयभन्दा धेरै मिटरको धावनमार्ग चाहिन्छ । तर ती विमानस्थलको धावनमार्ग छोटो भएको र ती धावनमार्गमा सञ्चालन गर्ने विमान अभाव रहेकोले उडान गर्न सम्भव नरहेको निरौलाले बताए । ‘जिरी, स्याङबोचे र ढोरपाटन विमानस्थलको धावनमार्ग सानो छ । नेपालमा साना धावनमार्गमा उतार्न र उडाउन सकिने विमान नै छैनन्’, निरौलाले भने ।
उनले टीकापुर विमानस्थल र पालुङटार विमानस्थलको स्तरोन्नति नै गर्नुपर्ने अवस्था भइसकेको बताए । ती विमानस्थलमा उडान नभएको लामो समय भइसकेकोले स्तरोन्नति नगरी पुनः उडान सम्भव नरहेको उनको भनाई छ । हवाईजहाजको अभावसँगै मौसमका कारण पनि दुर्गममा नियमित उडान सम्भव नभएको उनको भनाई छ ।
नेपालका दुर्गम जिल्लाहरुको मौसम वर्षामा सामान्यतः सधैँ खराब नै हुने हुँदा उडान सम्भव नहुने गरेको उनले बताए । नेपालका सबै दुर्गम जिल्लाको विमानस्थलमा नियमित उडान गर्न २० वटा विमान आवश्यक रहेको निरौलाले जानकारी दिए । उनले प्राधिकरणले सरकारलाई दुर्गममा उड्ने विमान खरिद गरेर नियमित उडान गर्न पटक पटक अनुरोध गरे पनि सरकारले नसुनेको बताए ।
‘नेपालको दुर्गम जिल्लाको विमानस्थलमा नियमित उडान गर्न करिब २० वटा विमान चाहिन्छ तर हामीसँग ८ वटा मात्रै छ। प्लेनको अभावको कारण नियमित उडान हुने स्थानमा पनि कतिबेला हवाईजहाज उड्छ भन्ने टुंगो नै हुँदैन’, उनले भने । सरकारले नै विमान खरिद गर्न चासो नदिँदा दुर्गम जिल्लामा विमानस्थल भए पनि उडान हुन सकेको छैन ।
प्राधिकरणले निजी क्षेत्रलाई पनि विमान खरिद गरी दुर्गममा उडान गर्न प्रोत्साहन गर्ने योजना बनाएको उनले बताए । उनका अनुसार दुर्गम जिल्लामा नियमित उडान गर्दा यात्रु अपुग हुने र घाटामा जाने भन्दै निजी क्षेत्रले उडान गर्न मानेका छैनन् । त्यसैले प्राधिकरणले त्यस्तो अवस्था सिर्जना हुन नदिन अनुदान दिने योजनासमेत बनाएको छ । जसका लागि प्राधिकरणले नियमावली नै बनाएको निरौलाले बताए ।