धनगढी -आज (शनिबार) देशभर मौसम बदली र वर्षा साथै तराईमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘यतिखेर देशभर मौसम सामान्य बदली भएको छ भने कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, मौसमविद् सञ्जीव अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा पनि कतै कतै हल्का पानी परिरहेको छ।’
मौसम महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिक देखि सामान्यसम्म बदली रहनेछ।
यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
दिउँसो मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर मौसम आंशिक देखि सामान्यसम्म बदली रहनेछ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।