अत्तरिया – भारत लैजाँदै गरेका सुदूरपश्चिमका पाँच महिलाको उद्धार गरिएको छ । भारत लैजाँदै गर्दा इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट उनिहरुको उद्धार गरिएको हो ।
झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि ती महिलाहरुको उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए । प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलका अनुसार उद्धार गरिएका मध्ये कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेका छन ।
उनले राती आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको जानकारी दिए । उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् ।
इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन् ।
पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिए ।