काठमाण्डौँ - नेपालमा डेंगी संक्रमितको सङ्ख्या २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।
सुनसरीमा १३ हजार ५२६ जना, मोरङमा २ दुई हजार २५४ जना, धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापामा १ हजार ३६२, काठमाडौमा ४५२, धनकुटामा ३७३, सङ्खुवासभामा ३३४, धनुसामा ३३१, कास्कीमा २७०, र कैलालीमा २४२ जना संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा देखिएका छन् । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जना डेंगु संक्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३ हजार ३१६ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ७०६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपञ्चिम प्रदेशमा ६९२, मधेश प्रदेशमा ५२१, लुम्बिनी प्रदेशमा ४०९ र कर्णाली प्रदेशमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।