अत्तरिया - सुदूरपश्चिम प्रदेशमा गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।
यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइदै छ । भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज धुमधामका साथ गौरा मनाउदै छन् । गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ ।
हिजो गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले बिरुडा(विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।
हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरुले धारण गर्ने गर्दछन् । पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् ।
ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरुमा मनाउने गरिन्छ ।