काठमाडौं - पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
काठमाडौँ मूलपानीस्थित क्रिकेट रंगशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
यस्तै भैरहवा क्रिकेट रंगशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रंगशालाको एउटा ब्लक निर्माण शुरु भएको छ ।
यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रंगशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेल मैदानको काम चालु छ । काठमाडौंको बूढानीलकण्ठ क्रिकेट रंगशाला मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रंगशाला निर्माण आयोजना सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रंगशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगञ्ज रंगशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि ड्रेन ढलान भइरहेको छ । आयोजनाको ७७ प्रतिशत निर्माण पूरा भएको छ । बाराको सिमरा रंगशालाको ४१ प्रतिशत, नारायणी रंगशालाको २० प्रतिशत, पाँचथरको फिदिम रंगशालाको १५.८५ प्रतिशत तथा सुनसरीको धरान रंगशालाको ५४ प्रतिशत निर्माण पूरा भएको छ ।
पोखरा रंगशालामा बोरिङ निर्माण शुरु गरिएको छ भने ललितपुरमा च्यासल रंगशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेल मैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । सरकारले आगामी २०८१ सालमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणको लक्षित प्रगति समयमै हासिल गर्न केही ठूला पूर्वाधार निर्माणकार्य प्राविधिक जनशक्ति भएको उपयुक्त सरकारी निकायमार्फत गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ। मुलुकलाई विश्व जगतमा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान हुँदै आएको छ ।
सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ। खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ । प्रतिभावान खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारले अठोट लिएको छ ।