अत्तरिया - आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्ण जन्माष्टमी पर्व सुदुरपश्चिम सहित देशभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् । भगवान् श्रीकृष्णको जन्म दिनको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
कर्मयोग र भक्ति योगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
आज बिहानै देखी अत्तरिया , धनगढी , लगाएत सुदुरपश्चिम सहित देशैभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पुजा आराधनाका लागि हिन्दु धर्मालम्बीहरूले पुग्न थालेका छन् । कृष्ण मन्दिरहरूमा पुगेका हिन्दु धर्मालम्बीहरूले आज दिनभर भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै रातभर जाग्राम समेत बस्ने गर्दछन् । आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण रथयात्रा निकाल्ने र भगवान श्रीकृष्णको झुला पनि झुलाउने गरिन्छ । \
भगवान श्रीकृष्णको जन्मदिनको सम्झनामा दिनभर ब्रत बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी युवती तथा महिलाहरुले गर्ने गर्दछन् । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
बाल्यकालदेखि नै विचित्र लीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले सदैब सत्यका पक्षमा रही मानव समुदायलाई सत्कर्मका लागि अभिप्रेरित गरेका थिए ।