अत्तरिया - यो वर्ष सुदूरपश्चिम प्रदेशमा गिद्धको १३९ वटा गुँड फेला परेको छ । गिद्धको अवस्था पत्ता लगाउन हरेक वर्ष यहाँ गिद्ध गुँडको अनुगमन गर्ने गरिएको छ । गत वर्षको तुलनामा थोरै घटेको अवस्थामा गुँड पाइएको हो ।
प्रदेशमा रहेको गिद्धको जम्मा गुँडमध्ये अधिकांश कञ्चनपुरमा रहेको छ । केही गुँड कैलाली र बैतडीको खोड्पेमा रहेको जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ । चराविद् हिरूलाल डङ्गौराका अनुसार गत वर्ष ११० वटा गुँड भेटिएको थियो ।
हिरूलालले लालझाडीको पर्सिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, तारापुर पोस्ट, भाटपुरीफाँटा र बन्साहाको मध्यवर्ती क्षेत्रमा गिद्धको गुँड अनुगमन गर्दै आइरहेका छन । यो जिल्लामा डङ्गर, सानो खैरो र सुनगिद्धले गुँड बनाउने गरेको जनाइएको छ । कैलालीमा यस वर्ष १४ वटा गुँड फेला परेका छन् । गत वर्ष १९ वटा गुँड अभिलेख गरिएको थियो ।
कैलालीको खुटिया, जोनापुर, बेली, पटेला क्षेत्रमा डङ्गर गिद्धले गुँड लगाएर बचेरा हुर्काउने गरेका छन् । गिद्धले असोजदेखि गुँड लगाउन सुरु गरेर जेठसम्म बच्चा उडाउने गरेका छन् । गिद्धले एक पटकमा एक बच्चा हुर्काउने गरेको जनाइएको छ ।
प्रदेशमा गिद्धको गुँड सङ्ख्यामा थोरै घटबढ देखिए पनि यसलाई स्थिर जस्तै मानिने गरेको डङ्गौराले बताए । प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउन थालेपछि विभिन्न क्षेत्रबाट संरक्षणको प्रयास भइरहेको छ । यो प्रदेशमा अतिसङ्कटापन्न डङ्गर, सानो खैरो, सुनगिद्ध, सङ्कटापन्न सेतो गिद्ध, सङ्कटको नजिक पुगेको हिमाली गिद्धसहित राजगिद्ध, हाडफोर गिद्धलगायत आठ प्रजातिका गिद्ध पाइने गरेका छन् ।