धनगढी- कैलालीको धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन बन्द भएपछि उद्योगी व्यवसायी चिन्ता ब्यक्त गरेका छन । यँहा रहेको क्यारेन्टिन बन्द हुँदा खाद्य र पशुपन्छी दाना उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीले सञ्चालनको माग गरेका हुन्।
तीन हप्तादेखि क्वारेन्टिन बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात ठप्प छ। प्लान्ट क्वारेन्टिनमा कर्मचारी पठाउन प्रदेश र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ। कैलाली उधोग बाणिज्य संघले यस बिषयमा आज पत्रकार सम्मेलन मार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
कैलाली भन्सारबाट आयात र निर्यात गर्दा बेहर्नुपर्ने झन्झटका कारण जिल्लाबाट कतिपय ठुला उद्योग नेपालगन्ज स्थानान्तरण भएको संघको बुझाई रहेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय बन्द गरेर कैलालीबाट उद्योग विस्थापित गर्ने रणनीति तय भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले आशंका गरे ।
‘कैलाली भन्सार भएर भारतबाट जति पनि गाडी आउँथे ती सबैलाई प्रभावित पारेर यहाँका उद्योग विस्थापित गर्ने खेल सुरु भएको छ जस्तो लागेको छ।’ क्वारिन्टिन कार्यालय बन्द गर्नु भनेको उद्योग बन्द गर भने सरह हो, महासचिव विष्टले भने।
राज्यलाई कर तिर्छौ कार्यालय सञ्चालन गर भन्दा पनि कुनै सुनुवाइ नभएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गुनासो गरे।
‘हामीले कर तिर्छौ कार्यालय सञ्चालनमा आउनु पर्यो भनेर सबैतिर हारगुहार गरिसकेका छौँ।’ तर, ‘अहिलेसम्म हुन्छ मात्रै भन्छन् तर एक जना कर्मचारी पठाउने काम भएको छैन।कर तिर्छौ भन्दा पनि कार्यालय खोल्ने लक्षण देखिएको छैन।’
कैलाली भन्सार हुँदै दैनिक ३० देखि ४० ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेको छ। भन्सारबाट दैनिक १० लाख राजस्व संकलन हुने गरे पनि प्लान्ट क्वारेन्टिनमा कर्मचारी नहुँदा खाद्यान्न, फलफूल र तरकारी आयात सधैंका लागि बन्द हुने भएको हो।
त्रिनगर नाकाबाट हुने खाद्यान्न, तरकारी र फलफूल आयात रोकिँदा व्यवसायीहरूले नेपालगंज नाकाबाट सामान आयात गर्न थालेका छन्। नेपालगन्जबाट आयात गर्दा सामानको मूल्य बढ्ने र उपभोक्तालाई मर्का पर्ने व्यवसायीहरुको तर्क छ।