काठमाण्डौ - नेपालमा डेङ्गीको सङ्क्रमण दिनहुँ बढिरहेको छ । तर सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम हुन सकेको छैन ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु सङ्क्रमण दैनिकरूपमा बढेको बताए । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा भन्दा अझ धेरै प्रभावित भएका हुन सक्ने अनुमान छ ।
सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४, ललितपुरमा एक सय ७४ जना डेङ्गी बिरामी भेटिएका छन् ।
गएको असारदेखि नै सङ्क्रमण बढ्न थालेको थियो । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्छ । सरकारले कार्ययोजना नै बनाएर त्यसैअनुसार डेङ्गी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाका साथै अस्पताललाई निर्देशन दिए पनि मुख्य गरी लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुन नसकेको हो ।
डेङ्गी रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ । कार्ययोजनामा डेङ्गी सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गी रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्ने समेत उल्लेख छ ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।