काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको बताएका छन ।
माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको बताए । शनिबार काठमाडौँको चन्द्रागिरिस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबीसमेत गरे ।
आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘‘विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो। यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन। यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो’’, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपरेको स्पष्ट पारे । उनले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने प्रयास गरिरहेको आरोपसमेत लगाए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘हिजो परास्त भएका तत्त्व फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो। ९० र ८० सिट भएका पार्टीका अगाडि ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन। सजिलो कुरा त होइन यो। हाम्रो इतिहासको तागत, हाम्रा सहिदले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो सङ्घर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतको कारणले ३२ सिट भए पनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो। ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ। बरु सदनमा भएका ८० र ९० वाला पार्टीको समर्थन पायौँ।’’
प्रधानमन्त्री प्रचण्डले आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने जिकिर गरे ।