अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र रहेका बिभिन्न मुख्य तथा ग्रामिण सडकका छेउछाउ अहिले निर्माण समाग्रीहरुले भरिभराउ भएका छन् । सम्बन्धित निकायको बेवास्थाका कारण सडकका छेउछाउ ढुङ्ग , बालुवा , ईट्टा , गिट्टी लगाएतका निर्माण समाग्रीहरुले भरिभराउ भएका हुन् ।
सडक नै अतिक्रमण गरि राखिएका यस्ता निर्माण सामाग्रीले दुर्घटनाको जोखिम पनि निकै बढेको छ । हरेक दिन साझँ अत्तरिया बजारको मुख्य चोकको बिच सडकमा राखिने बिभिन्न खाले पसलहरुले सवारी साधनको आवतजावतमा कठिनाई भैरहेका बेला भित्रि सडकहरु पनि निर्माण सामग्रीले भरिभराउ भएका छन् ।
गोदावरी नगरपालिक वडा नं २ की स्थानिय महिला शोभा थापा रावलले अत्तरिया स्थित रिङ रोडमा राखिएका निर्माण सामग्री (ढुङ्गाहरु) को फोटो आफ्नो सामाजिक संजालमा राख्दै स्थानिय सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले लेखेकी छन ‘हेलो सरकार यसो गर्नेलाई कहाँ सम्मको कारबाही हुने हो , एक पटक नजर जावस् ’ । दैनिक सयौ मानिस र सवारी साधनहरु आवत जावत गर्ने रिङ रोडमा राखिएका निर्माण सामग्रीहरुले आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको सम्भावना पनि निकै बढेको स्थानियहरु बताउँदछन् ।
लाखौ करोडौै रुपैया खर्च गरेर बनाइएका सडक र त्यसको छेउछाउको स्ल्यापहरु अहिले तिनै निर्माण सामाग्रीले गर्दा सबै फुट्ने अबस्थामा रहेका छन् । बर्षायातमा सडक बरपर बनाएको नाली सबै बन्द भएर पानी निकास नहुदाँ रिङ रोड डुबानमा समेत पर्ने गरेको छ । बिकासका काममा करोडौ रकम खर्च गर्ने तर त्यसको दिगोपनमा ध्यान नदिने स्थानिय सरकारको यस तर्फ समयमै ध्यान जानुपर्ने स्थानिय राबलको भनाई रहेको छ । सवारी दुर्घटना न्युनिकरणमा रातदिन खटिरहने ट्राफिक प्रहरीलाई यो चुनौतीका रुपमा रहेको छ । मुख्य राजमार्ग देखी भित्रि सडकका छेउछाउमा राखिएका निर्माण सामाग्रीहरुले कुनै सवारी दुर्घटना भएमा त्यसमा सवार रहेको मानिसहरुले अकालमै ज्यान समेत गुमाउनुपर्ने अबस्था आउने गर्दछ ।
यसका लागि ट्राफिक प्रहरीले पनि ध्यान दिनुपर्ने अर्का स्थानिय रमेश प्रसाद जोशीले बताए । उता स्थानिय सरकारका रुपमा रहेको गोदावरी नगरपलिकाकी उप प्रमुख रत्ना कडायतले सार्वजनिक स्थलको अतिक्रमण गरेर कसैले पनि त्यस्तो निर्माणका सामग्रीहरु राख्न नपाउने बताइन् । उनले यस बिषयमा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका मुख्य राजमार्गदेखी भित्रि सडकहरुमा कुनै पनि किसिमका निर्माण सामाग्रीहरु राख्न नपाइने , गाईगोरुहरु बाध्न नपाइने नियम बनाएको हुदा सबैले नियमका पालना गरिदिन आग्रह गरिन् ।
‘हामीले करोडौ रुपैया खर्च गरेर विकास गरिरहेका हुन्छौ , तपाईले त्यसको सुरक्षा गर्नुपर्नेमा उल्टै नोक्सानी हुने काम हुन्छ ' उनले भनिन् –‘यस तर्फ गाँउ टोलमा बस्ने स्थानियहरु पनि सचेत हुनु आवश्यक रहेको छ ।’ यस बिषयमा आफुले वडा कार्यालयमा कुरा गर्ने उपप्रमुख कडायतको भनाई छ ।