काठमाडौं - कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग राख्दै लामो समयदेखी संघर्ष गरिरहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविधालय स्थापनार्थ संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ ।
गेटामा अरबौंका संरचनालाई अलपत्र पारेर १०० सैयाको ओपिडी सेवा सुरु गर्न सरकारी स्तरवाटै चलखेल भैरहेको भन्दै त्यसलाई राकेर तत्काल ६०० सैया सहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नुपर्ने अडान सहित विभिन्न संघर्षका कार्यक्रमहरु गरिरहेको सो समितिले सडक आन्दोलन देखी राज्य संचालकहरुलाई खबरदारी गर्ने काम जारी राखेको हो ।
संघर्षका कार्यक्रम अन्र्तगत सो समितिले विहिवार प्रतिनिधिसभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई यस बिषयमा ज्ञापन पत्र बुझाएको छ ।
सुदूरपश्चिम पुगेका माननीय सभापति जोशीलाई गेटा विमानस्थलमा स्वागत गर्दै संघर्ष समितिका पदाधिकारीहरुले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरुबारे जानकारी गराएका थिए ।
साथै समितिका पदाधिकारीहरुले सभापति जोशीलाई नेपाल सरकारले निर्णय गरेको र राष्ट्रपतिवाट घोषणा भएको बिषयलाई चाडो भन्दा चाडो संसदको चालु अधिवेशनवाट विद्येयक पास गरि ६०० सैयाको अस्पताल समेत संचालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
सो ज्ञापन पत्रमा सुदुरपश्चमका लाखौं जनताहरुको साझा सपनाको रुपमा रहेको गेटा स्थित शहिद दशरथ राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सिघ्र संचालनार्थ सुदुपश्चिमेलीहरुको स्वतस्फुर्त रुपमा आन्दोलित भईरहेको व्यहोरा यहाँ समक्ष अवगत नै छ । संघिय राज्यसत्ताबाट पटक पटक सुदुरपश्चमेलीहरुप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सन्चालनमा भईरहेको ढिलाईलाई हामिले बुझेका छौं भनिएको छ ।
विगत लामो समयदेखि नेपाल सरकारको निर्णय कार्यान्वयन गराउनका लागि आफूहरु संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएको कुरा पनि जानकारी गराइएको छ ।
पटक पटक सडकदेखी सदन सम्म उठेको बिषयमा संघिय संसदका सबै माननीयहरुलाई जानकारी रहेकाले यसको कार्यन्वयन नहुदाँ सम्म आफुहरुको आन्दोलन पनि नरोकिने कुरा सभापति जोशीलाई जानकारी गराइएको संघर्ष समितिका अध्यक्ष लोकराज पाण्डे आगोले बताए ।
अध्यक्ष पाण्डेले हाल गेटामा संचालन गर्ने भनिएको १०० सैयाको ओपिडीले सुदूरपश्चिमेलीहरुको भावना तथा आवश्यकता परिपूर्ती नगर्ने भएकाले यथासिघ्र ६०० सैयाको पूर्णकालिन अस्पताल सहित स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने कुरा सभापतिको गम्भिर ध्यानाकर्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
ज्ञापनपत्र बुझ्दै सभापति जोशीले यसमा आफ्नो ध्यानाकर्षण भएको र स्थानियहरुको माग बमोजिम संसदको चालु अधिवेशनवाट विद्येयक पास गराएर ६०० सैयाको अस्पताल संचालनका लागि पूर्ण पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।