अत्तरिया - धनगढीको एसपीए कलेजमा अध्ययनरत् विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागो (राखी)मा आकर्षण देखिएको छ ।
एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थियटर एण्ड आर्टस क्लबका विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागोमा स्थानीयबासीको आकर्षण देखिएको हो । भारतलगायतका देशबाट आयातित रक्षा धागोहरु कच्चा, कम गुणस्तरका र बढी कस्मेटिकयुक्त हुने भएकाले ती भन्दा हस्तनिर्मित रक्षा धागोमा स्थानीयको आकर्षण देखिएको स्मल स्केल इन्टरप्रेनियर्सका अध्यक्ष प्रिन्स पन्तले बताए ।
विधार्थीहरुले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन् । स्टलमा विभिन्न किसिमका रक्षा धागोहरु उपलब्ध रहेका छन् । कलेजले विद्यार्थीहरुमा उद्दमशीलता विकास गर्न उक्त क्लबको गठन गरेको हो । उक्त क्लबबाट विद्यार्थीहरुले सा साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन् ।
आफ्नो उदद्यमशील विद्यार्थीहरुले कुनै व्यापार व्यवसाय गर्न चाहेमा कलेजले बिना धितो १० लाखसम्मको लगानी समेत गरिदिने व्यवस्था गरेको छ । थियटर एण्ड आर्टस क्लबकी अध्यक्ष आयुष्मा जोशीले स्थानीयबाट राम्रो प्रतिक्रिया पाइरहेको बताईन् ।
यही बिहीबार देशभर रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ । उक्तदिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।
यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ । त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।