अत्तरिया - धनगढीमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ ।
धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको हो । दुबै किड्नीमा पत्थरी भएर उपचारका लागी स्वस्तिक अस्पताल पुगेका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो ।
उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका भतिजा राजकुमार चौधरीका अनुसार पत्थरीले गर्दा दुबै किड्नीमा समस्या आएपछि भदौ ९ गते शनिबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो ।
मृगौलाको शल्यक्रिया गरेर पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए । अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए । चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो । शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए । तर शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको आफन्तले बताए ।
बिरामीको स्वास्थ्यमा समस्या देखिएपछी अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन् । त्यसपछी साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको मृतक चौधरीको छोरी सुस्मा दहितले बताइन् । पत्थरीको अप्रेसनको क्रममा पथ्यरी निकाल्दा भित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भइ बिरामीको मृत्यु भएको जनाईएको छ ।
अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन् । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको शल्यक्रियाका क्रममा रक्तश्राव नराेकिएपछि बिरामीको मृत्यु भएको बताएका छन ।
बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।