काठमाण्डौ -चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् ।डा. केसीले आफ्ना माग पूरा नभए कार्तिक १८ गतेदेखि अनसन बस्ने बताएका हुन् ।यसअघि उनले असोज २७ गते पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग कर्तिक ८ गतेसम्म पूरा नभए भाइटीकाको भोलिपल्ट (१३ गते) देखि अनशन बस्ने घोषणा गरेका थिए।यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारको लागि डा. केसीले १६ पटकसम्म अनशन बसिसकेका छन् ।
डा. केसीका मागहरु यस्ता छन् ।
१- २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२- विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३- आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।
४- संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतका निर्णय तत्काल खारेज गरियोस् ।
५- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।
६- संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।