अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्राकृतिक विपदका कारण विस्थापित भएकाहरुको उचित व्यवस्थापनको माग गरेका छन ।
प्रदेश सभा बैठकको शून्य समय बोल्ने अधिकांश सदस्यले बाढी, पहिरो र डुबानबाट विस्थापितको पुनस्र्थापना तथा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन । उनिहरुले बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ले प्रदेशको विभिन्न जिल्लावासी विस्थापित भई कठिन जीवनयापन गरिरहेको भन्दै छिट्टै व्यवस्थापन गर्न माग गरेका हुन । प्राकृतिक विपतले प्रदेश नै आक्रान्त बनेको भन्दै जनधनको नोक्सानी बेहोरेकाहरूलाई उचित राहतको माग गरिएको छ ।
साउन २२ गतेको पहिरोका कारण कैलालीको चुरे गाउँपालिकाको भ्यागुतेपानी, बन्देगडा, दोगडा, मुरेभावर, सावनीगडाका कैयौँ परिवारको जनजीवन अस्तव्यस्त बनेको प्रदेश सभा सदस्य खिमादेवी विष्टले बताइन । विस्थापितहरू वनदेवी जङ्गलमा कष्टपूर्ण अवस्थामा बसिरहेको जानकारी दिँदै उनले सरकारले विस्थापितहरूको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिइन ।
प्रदेश सभा सदस्य चक्र मल्लले बाढी पहिरोका कारण प्रदेश नै अस्तव्यस्त रहेको भन्दै प्रदेश सरकारको खोजी भएको बत्तए । उनले प्राकृतिक विपतमा परेका जनता गुहार मागिरहेका बेला उनीहरूको आवाज बोल्ने ठाउँ नपाएको गुनासो गरे । “यो सरकार जनताको सवालप्रति उदासीन छ,” उनले भने “पहाडमा पहिरोले धेरै बस्ती जोखिममा परिरहँदा तराईमा बाढीको समस्या छ । विभिन्न नदीमा आउने बाढीका कारण बस्तीहरू कटानको जोखिममा परेका छन् ।
प्रदेश सभा सदस्य घनश्याम चौधरीले भजनी क्षेत्रमा बर्सेनि हुँदै आएको डुबान समस्या समाधानका लागि काँढा, कान्द्रा, पथरैयालगायतका नदीमा उच्च तटबन्ध र ड्याम हुनुपर्ने बताए । उनले हुलाकी राजमार्गका पुलपुलेसा फराकिलो बनाउनुपर्नेमा जोड दिए । साउन २२ गतेको पहिरोका कारण राष्ट्रिय राजमार्गसहित अन्य सडक अवरुद्ध भएका छन् ।
धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) को पहिरोका कारण अवरुद्ध छ । सडक अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन कष्टकर छ । राष्ट्रिय राजमार्गको बुढीतोलाखण्ड पहिरोले गर्दा अवरुद्ध भएपछि जनताले निकै समस्या भोग्नु परिरहेको प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले बताइन ।
“भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन नै ठप्प हुने भएकाले वैकल्पिक सडक निर्माण गर्न आवश्यक रहेको प्रदेश सभा सदस्य बहादुरसिंह थापाले बताए । उनले भने “सातै जिल्लालाई जोड्ने वैकल्पिक राजमार्ग दैजी–जोगबुढा सडक निर्माणलाई चाँडै पूर्णता दिउँ। वनकटी, वनहरा, चौधर, स्याली जस्ता नदीले आफ्नो निर्वाचन क्षेत्रमा ठुलो क्षति गरेको छ यसका लागि सरकारको ध्यान जान जरुरी छ।
उनिहरुले प्रदेश सभालाई चलायमान बनाउनतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।