अत्तरिया - सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ ।
हिजो बुधवार गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले बिरुडा(विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।
हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरुले धारण गर्ने गर्दछन् । पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ ।
गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् । ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् ।
पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ ।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरुमा मनाउने गरिन्छ ।
यसैबिच सुदूरपश्चिम प्रदेशमा आज र भोली सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
यो बर्ष तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा भदौ ४ गतेदेखि गौरा शुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।