अत्तरिया - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह र सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबिच भेटवार्ता भएको छ ।
शनिबार उनिहरुबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए ।
सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा मुख्यमन्त्री शाहले जोड जोड दिएका छन् ।
मुख्यमन्त्री र मन्त्री ज्वालाबीच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दिपायल–फास्ट ट्रयाक, कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटघाटको अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउद, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र सङ्घीय मन्त्रालयका सचिवको समेत उपस्थिति थियो ।
मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला, भावरस्थित पहिरोका कारण बिग्रिएको राजमार्गको पनि अवलोकन गरेको थियो ।
भीमदत्त राजमार्गमा साउन २२ गते पहिरो खसेपछि सात दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । पछिल्ला केही दिनदेखि राजमार्ग सञ्चालनमा आएको छ । अझै पनि यातायात निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । एकतर्फी आवतजावत भइरहे पनि बीच बीचमा बाटो बिग्रेर बारम्बार सवारी साधन अझै रोक्ने र बनाउने बाध्यता रहेको छ ।
यो राजमार्ग सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाको लाइफलाइन मानिन्छ ।