कैलाली - ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ ।
तिहारमा ओखर फोरेर दिदी-बहिनीले आफ्ना दाजु-भाइका बाधा फुकाइदिने साँस्कृतिक परम्परा छ । तर, त्यही बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ ।
नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ । कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ प्रतिशत जमिनमा ओखर खेती गर्न सकिन्छ । तर, यसको व्यावसायीक खेती हुन नसकेका कारण विदेशी ओखरको भर पर्नुपरेको हो ।
कृषिको आधुनिकिकरण र व्यावसायीकरण नभएका कारण नेपालले वर्षेनी खर्बौं रकम बराबरका कृषि उत्पादन आयात गर्दै आएको छ ।
ओखर २ प्रकारको हुने गर्दछ । प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ भने ओखरको दाते प्रजातिको ओखर राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।
ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ ।
ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।
बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-७०० सम्ममा बिक्री हुन्छ ।
ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।