कैलाली - सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा बस्ने राना थारु समुदायले आज तिज पर्व मनाउदै छन् ।
तिज यो समुदायको ठुलो पर्व मानिन्छ । राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाका अनुसार आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने गर्दछन् ।
“पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ”, उहाँले भन्नुभयो,“पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।” महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । त्यसै गरी, आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताए ।
“अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन”, उनले भने,“साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो ।” नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ । तर, राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन् ।
आज तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ ।
विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको पाईन्छ । मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू” भन्ने गरेको जनाइएको छ ।
झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ । तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेका जनाइएको छ ।